सुरुङ निर्माणमा नियन्त्रित विस्फोटन: प्रविधि र विस्फोटकको छनोट
नेपालमा जलविधुतीय, सडक सुरुङ, तथा खानेपानी आयोजनाजस्ता पूर्वाधारहरूको तीव्र विकाससँगै सुरुङ निर्माण परियोजना उल्लेखनीय वृद्धि भएको छ। हिमाली भूभाग र जटिल भूगर्भीय बनावटका कारण, यस्ता परियोजनाहरूमा नियन्त्रित विस्फोटन (Control Blasting) एउटा सुरक्षित र प्रभावकारी खनन विधिका रूपमा प्रयोगमा आएको छ। यसको मुख्य उद्देश्य भनेको संरचनात्मक स्थिरता कायम राख्दै, वातावरणीय क्षति न्यूनीकरण गर्नु र कामदार तथा वरपरका समुदायको सुरक्षा सुनिश्चित गर्नु हो। यसैले, नेपालको जटिल भूपरिवेशमा नियन्त्रण गरिएको विस्फोटन केवल प्राविधिक उपाय मात्र नभई एक रणनीतिक विकल्प पनि बनेको छ।
नेपालमा नियन्त्रित विस्फोटनको कार्यविधि
नियन्त्रित विस्फोटन प्रक्रिया प्रारम्भमा विस्तृत भूगर्भीय र प्राविधिक अध्ययनबाट सुरु हुन्छ। नेपालको भौगोलिक विविधताका कारण ग्रेनाइट, चुनढुङ्गा, र अन्य नरम चट्टानहरू विभिन्न स्थानमा पाइन्छन्, जसअनुसार विस्फोटन डिजाइन (Design) फरक हुन्छ।
इन्जिनियरहरूको सहायताले विशेष ढाँचामा ड्रिलिङ होलहरू खनिन्छन् जस्तै:
- कट होलहरू: सुरुङको केन्द्र भागमा प्रारम्भिक विस्फोटनका लागि।
- लिफ्टर होलहरू: भुइँ चट्टान निकाल्नका लागि तल्लो भागमा।
- पेरिमीटर होलहरू: सुरुङको सटीक रूप र सीमाना निर्धारण गर्न।
यी प्वालहरूको स्थान, कोण र गहिराइ चट्टानको किसिम अनुसार तय गरिन्छ ताकि अव्यवस्थित रूपमा विस्फोटन कम होस् र सुरुङको आकार सटीक रहोस्।
प्रमुख नियन्त्रित विस्फोटन प्रविधिहरू
- स्मूथ विस्फोटन – भित्ताहरूलाई समतल र स्थिरराखी हल्का विस्फोटकसहित नजिकै ड्रिल गरिन्छ।
- पूर्व विभाजन – मुख्य विस्फोटन भन्दा अघि चिरा पारेर अव्यवस्थित रूप न्यूनीकरण गरिन्छ।
- कुशन विस्फोटन – मुख्यतया सुरुङको छेउ भागमा प्रयोग हुने प्रविधि जसले भित्ताहरू सुरक्षित राख्छ।
- डिले विस्फोटन – प्वालहरू क्रमशः मिलिसेकेन्डको फरकमा विस्फोट गरिन्छ, जसले कम्पन र क्षति घटाउँछ।
विस्फोटक छनोट
विस्फोटक सामग्रीको छनोट चट्टानको प्रकृतिमा आधारित हुन्छ
- कठोर चट्टानहरू जस्तै ग्रेनाइट, दर्शनढुङ्गा– उच्च शक्तिका विस्फोटक जस्तै इमल्सन
Emulsion) वा एएनएफओ (ANFO – Ammonium Nitrate Fuel Oil) प्रयोग गरिन्छ । यी विस्फोटकहरूको डिटोनेसन वेग (Detonation Velocity) र उर्जात्मक क्षमता उच्च हुन्छ ।
- मध्यम कठोर चट्टानहरू जस्तै चुनढुङ्गा – मध्यम श्रेणीका विस्फोटकहरू उपयुक्त हुन्छन्।
- नरम चट्टानहरू – जस्तै सिल्टस्टोन कम ऊर्जा दिने विस्फोटक प्रयोग गरिन्छ ताकि अनावश्यक क्षति नहोस्।
आधुनिक प्रविधिको प्रयोग: इलेक्ट्रोनिक डिटोनेटर
हालका वर्षहरूमा सुरुङ निर्माणमा नन–इलेक्ट्रिक (NONEL) वा इलेक्ट्रिक क्याप (Electric Caps) को तुलनामा, इलेक्ट्रोनिक डेटोनेटरहरूले (Electronic Detonators – EDs) मिलिसेकेन्ड स्तरमा उच्च सटीकता प्रदान गर्छन्, जसले विस्फोट नियन्त्रण, सुरक्षा, र परिणाममा उल्लेखनीय सुधार ल्याएको छ।
यस प्रविधिका विशेषताहरू:
- विस्फोट समयको अत्यन्त उच्च सटीकता (मिलिसेकेन्डको अन्तरमा विस्फोट)
- विस्फोटनको राम्रो नियन्त्रण
- कम कम्पन
- संरचनात्मक जोखिममा उल्लेखनीय कमी
- अधिक सुरक्षित कार्य वातावरण
नेपालजस्तो जटिल भूगर्भीय संरचना भएको मुलुकमा, यो प्रविधि प्रभावकारी मात्र नभई अत्यावश्यक बनिसकेको छ।